एकै मञ्चमा प्रचण्ड–जनार्दनबीच घोचपेच

नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ–शर्मा, तपाईंलाई मैले नै हुर्काएको हो–प्रचण्ड

२२ भदौ २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच घोचपेच भएको छ । बुधबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्ड र अर्थमन्त्री समेत रहेका शर्माबीच नीति र नेतृत्वका बारेमा घोचपेच भएको हो ।

अध्यक्ष प्रचण्डअघि बोलेका शर्माले नीति र नेतृत्व सही ढंगले चल्न नसकेकोमा असन्तुष्टि जनाएका थिए । ‘म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । त्यो कुरामा म गम्भीर छु’शर्माले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भनेका थिए, ‘तर नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो माग हो ।’

जनार्दनको यो कुरा सुनेका प्रचण्डले पनि उनलाई सोही शैलीमा जवाफ फर्काए । प्रचण्डले भने, ‘जनार्दनजीले जाँदा जाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईंहरुलाई भन्न चाहान्छु –जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा पनि सवैले बुझ्न जरुरी छ ।’

प्रचण्डले शर्माको रक्षा र विकास गर्ने कुरामा आफ्नो मुख्य भूमिकालाई नबिर्सन चेतावनी दिए । अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स घोषणा’ कार्यक्रममा शर्माले आफूलाई उपमहासचिव बनाइएकोमा असन्तुष्टि पनि पोखेका थिए । उनले उपमहासचिवको रुपमा नभइ संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका थिए । साभार:रातोपाटी