
१९ जेष्ठ २०८० नेपालगन्ज । भारतबाट अवैधरुपमा नेपाल भित्र्याईएका ठुलो संख्यामा रहेका ब्रोइलर कुखुरा व्यवसायीले नियन्त्रणमा लिई, सिडिओ लाई कारबाही गर्न ध्यानाकर्षण गरेका छन । नियन्त्रणमा लिएका अबैध कुखुरा बाँके प्रहरीलाई बुझाईएको छ ।
कुखुरा व्यवसायी मञ्च नेपालगंज बाँकेका अध्यक्ष सहितको पदाधिकारीहरु र बाँके प्रहरीले नेपालगंज र बर्दियाका बिभिन्न स्थानमा अनुगमन गरि करिव २ सय तयारी ब्रोईलर कुखुरा नियन्त्रणमा लिइएको मञ्चले जनाएको छ ।
उक्त विषयलाई लिएर मञ्चका अध्यक्ष सहितको पदाधिकारीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन । प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले अनुगमन गरेको कार्य प्रति प्रशंसा गर्दै बाँके प्रशासनले सधै सहयोग गर्ने र अबैध भारतीय कुखुरा भित्र्याउनेलाई कारबाही गरिने प्रतिवद्धता जनाएको कुखुरा व्यवसायी मञ्च नेपालगंज बाँकेका अध्यक्ष पोखरेलले बताए ।
नेपालगंजका बिभिन्न शंकास्पद स्थानहरुमा छापा मार्दा उक्त कुखुरा तथा केहि व्यक्तिहरु समेत पक्राउ गरि बाँके प्रहरीलाई बुझाइएको कुखुरा व्यवसायी मञ्च नेपालगंज बाँकेका अध्यक्ष धर्मराज पोखरेलले बताए । उनका अनुसार खुल्ला सिमानाकाको फाईदा उठाउदै केहि भारतीय र केहि नेपाली मासु पसल संचालन गर्ने व्यक्तिले नेपालगंजमा दैनिक सयौंको संख्यामा भारतीय कुखुराको बिक्रि वितरण गरिरहेको सूचनाको आधारमा नेपाल प्रहरी र व्यवसायी मञ्चका पदाधिकारीले संयुक्त रुपमा अुनुगमन गरेका थिए ।
अनुगमनका क्रममा अबैध भारतीय कुखुरा सहित नेपालगंज गणेशमान चौकमा रहेको नेपाल फ्रेस हाउसका सलमान खान, भृकुटिनगरका सद्धाम हुसेन, र नेपालगंज ९ का सुरेन्द्र चौधरीलाई मोटरसाईकल सहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाईएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
यसैविच मञ्चका अध्यक्ष सहितको पदाधिकारीहरु र बाँके प्रहरीले नेपालगंजका बिभिन्न स्थानमा अनुगमन गरि करिव २ सय तयारी ब्रोईलर कुखुरा नियन्त्रणमा लिईको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेमा आवश्यक कारवाहिका लागि निवेदन समेत दर्ता गरिएको जनाइएको छ ।



दिपेन्द्र धिताल । १९ जेष्ठ २०८०, शुक्रबार १७:५५