ज्ञान नेपाल संस्थाकाे बार्षिक प्रगतिकाे बिषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न

नेपालगन्ज । शुभ सन्देश सभा नेटवर्क (ज्ञान नेपाल) संस्थाले गरेकाे काम समिक्षा तथा अन्तक्रिया कार्यक्रम  शनिरवार सम्पन्न भएकाे छ । संस्थाले मानव ओसारपसार तथा बेचबिखनविरुद्ध बाँकेमा क्रियाशिल गैरसरकारी ज्ञान नेपालले गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ जाँदै गरेको शङ्कास्पद १ सय ४४ जना नागरिकलाई सिमानाकाबाट घर फिर्ता गरेको जनाएको छ । संस्थाले शनिबार नेपालगन्जमा सम्पन्न गरेको वार्षिक प्रगति पस्तुत तथा अन्तरक्रिया कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत तिलकबहादुर नेपालीले उक्त कुराको जानकारी दिनुभएको    हो ।

नेपालगन्जको जमुनाहा नाकामा सञ्चालन गरिएको बुथबाट गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ जाँदै गरेका ९१ जना महिला र ५३ जना पुरुष गरि शङ्कास्पद १ सय ४४ जना नागरिकलाई परामर्श दिई भारत जान रोकेर घरतर्फ फर्काइएको कार्यक्रम अधिकृत नेपालीले बताउनुभयो । उहाँका अनुसार उक्त बर्षमा तीन जनालाई शक्ति समुहको सेल्टर होममा पठाइएको र एक हजार ७ सय ७३ जनालाई सिमानाकाको बुथमै सुचना तथा परामर्श सेवा प्रवाह गरिएको छ । यो आर्थिक बर्षको पुुससम्ममा ६ सय ६७ जनालाई सुचना तथा परामर्श सेवा प्रवाह गरिएको र दुई जना महिलालाई उद्दार गरि साथी संस्थामा पठाइएको छ । बाँके, बर्दिया, दाङ, कपिलबस्तु र जुम्ला जिल्लाका दलित, सिमान्तकृत, विपन्न, असहाय तथा प्राकृतिक विपद पीडितहरुलाई लक्षित गरि विभिन्न सामाजिक कार्यहरु समेत सञ्चालन गर्दै आइरहेको संस्थाका उपाध्यक्ष डा.डक्टप्रसाद धितालले जानकारी दिनुभयो ।

संस्थाले लक्षित वर्गको आर्थिक विकास, सामुदायिक सशक्तिकरण, प्रत्यक्ष सहयोग तथा सेवामुखी कार्यक्रम अन्तर्गत गत आर्थिक बर्षमा बाँके, बर्दिया, दाङ, कपिलबस्तु र जुम्लाका अत्यन्तै विपन्न तथा असहाय अवस्थाका १ सय १९ जना बालबालिकालाई अध्ययनका लागि छात्रबृत्ति प्रदान गरेको छ । वैकल्पिक रोजगारस्वरुप विपन्न तथा कमजोर आर्थिक अवस्था भएका १० परिवारलाई विभिन्न व्यवसायिक लघु परियोजना अन्तर्गत बङ्गुरपालन, बाख्रापालन, किराना पसल सञ्चालन, फ्रेस हाउस सञ्चालनलगायतमा सहयोग पुराइरहेको उपाध्यक्ष धितालले बताउनुभयो ।

उहाँका अनुसार संस्थाले गत बर्षमा बर्दियामा एक विपन्न एवं दलित परिवार र बाँकेको नेपालगन्जमा एक जना असहाय तथा एकल महिलालाई बस्नका लागि आवास निर्माण गरेको छ । खानेपानीको अभाव भोगिरहेका बर्दियाको एउटा वस्ती र दाङको दुईवटा वस्तीका बासिन्दाहरुलाई सामुहिकरुपमा खानेपानी उपभोग गर्नका लागि मोटरजडित पानीट्याङ्की निर्माण गरि खानेपानीको व्यवस्था गरिदिएको उहाँले जानकारी दिनुभयो ।

संस्थाले जुम्लाको सिँजामा दृष्टिविहिन तथा विपन्न विद्यार्थीहरुलाई छात्रबाससहित शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त छात्रबासमा ५ देखि २१ बर्ष उमेर समुहका ६ महिला र १० पुरुष गरि १६ जना दृष्टिविहिनहरुले विभिन्न कक्षामा निरन्तर शिक्षा हासिल गर्दै आइरहेको ज्ञान नेपालले जनाएको छ । गतबर्ष मुगु र जुम्लामा गएको पहिरोमा परि पीडित बनेका जुम्ला सिँजाक्षेत्रका ६७ पहिरो पीडित घरपरिवार र छायानाथ रारा ११, मुगुका ७० पहिरो पीडित घरपरिवारलाई खाद्यान्न तथा लत्ताकपडा राहतस्वरुप वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।

त्यसैगरी यो आर्थिक बर्षको पुस महिना सम्ममा मानव ओसारपसार तथा बेचबिखनविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको, विभिन्न जनचेतनामूलक नाटक, रेडियो बहस, समय सान्दर्भिक र लोककल्याणकारी सुचना प्रसारण तथा प्रकाशन गर्दै आएको छ ।

गत कार्तिक १७ गते राति गएको भूकम्पका कारण पीडित बनेका जाजरकोटको भेरी नगरपालिका ४ मुलपानी र बोहोरा गाउँमा पुगी त्यहाँका ३ सय ६७ घरपरिवारलाई बाक्लो कम्बल, पीफोर्म तथा लगाउने लत्ता कपडासमेत वितरण गरिएको संस्थाका उपाध्यक्ष धितालले जानकारी दिनुभयो । संस्थाले सञ्चलान गर्दै आएका कार्यक्रमहरुलाई निरन्तरता दिदै आगामी दिनमा मानव ओसारपसार तथा बेचबिखनको जोखिममा रहेका महिलाहरुलाई उद्दारपश्चात् आपतकालिन ट्रान्जिटका लागि यथाशिघ्र सेफ हाउस निर्माण कार्य सञ्चालन गरिने उहाँले बताउनुभयो ।