राष्ट्रियसभाको भागबन्डा टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

१९ पुस २०८० काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेबाट गठबन्धनको बैठक चलिरहेको हो । बुधबार दिउँसो सत्ता गठबन्धनका प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलेलाई पनि समेटेर जाने प्रस्ताव गरेका थिए । मंगलबार र बुधबार बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्षको बैठकमा एमालेलाई पनि राष्ट्रिय सभामा निर्वाचनमा समेट्ने लैजानेबारे सकारात्मक छलफल भएको थियो । एमालेलाई समेट्नेबारे कांग्रेस र माओवादी केन्द्रबिच भएको छलफल एकीकृत समाजवादी र जसपाका नेताहरूलाई सुनाइएको थियो ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच छुट्टै छलफल भएको थियो । आगामी फागुन २० मा एमालेका (एक मनोनीत) सहित ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै दलहरूबिच सिट बाँडफाँटबारे छलफलले तीव्रता पाएको देखिन्छ ।