विवाद पछि नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिव पदको मतगणना पुन हुने

४ भदौ २०८० नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदको मतगणनामा विवाद भएपछि उक्त पदका लागि पुन: मतगणना हुने भएको छ ।

महासचिव पदको मतगणनामा विवाद भएपछि ५ गते मंगलबार बिहान ८:०० बजेदेखि पुनः मतगणना हुने निर्वाचन आयुक्तको कार्यालयले सूचना प्रकाशित गरी जानकारी गराएको छ ।

निर्वाचन आयुक्तको कार्यालयले सोमबार बिहान समावेशी प्यानलका उम्मेदवार भिम रानाभाटले १९२६ र साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवार टंक प्रसाद शर्माले १९२० मत प्राप्त गरेको घोषणा गरेको थियो ।

मतपरिणाम पश्चात् साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवार टंक प्रसाद शर्माले मतपरिणाम प्रति असन्तुष्टि जनाउदै पुनः मतगणनाको माग गर्दै निर्वाचन आयुक्तको कार्यालयमा निवेदन दिएको आयुक्तको कार्यालयले जनाएको छ ।