आँखा पाक्ने रोगको सङ्क्रमण फैलिदै गएपछि बाँकेका विद्यालय बन्द


२४ साउन २०८० नेपालग‌ंज ।  बाँके जिल्लाभर आँखा पाक्ने रोगको सङ्क्रमण फैलिदै गएपछि नेपालगन्ज, कोहलपुर, खजुरा लगाएतका बिद्यालयहरु बन्द गरिएका छन । आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् । यसैकारण आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि  विद्यालय चार दिनका लागि बन्द गरिएका छन ।

नेपालगन्ज उप-महानगरपालिका शिक्षा महाशाखा प्रमुख गोरखबहादुर थापाले उपमहानगरका अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकाले विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको बताए । शुक्रबारसम्म पालिका भित्रका सम्पूर्ण विद्यालय बन्द रहने छन् । आँखा पाक्ने रोगबाट बालबालिका बढी प्रभावित भएका छन् । उपमहानगरका वडास्तरका आधारभूत स्वास्थ्य सेवा केन्द्र र उप-महानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आँखा पाक्ने समस्याका बिरामी बढी आउने गरेका पाइएको छ ।

यस्तै बाँकेको खजुरा गाउँपालिकाले पनि बुधबारदेखि चार दिनसम्मका लागि विद्यालय बन्द गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।