बझाङ दुर्घटना : मन्त्री सिंहको उपचार कोहलपुर मेडिकल कलेजमा सुरु

०५ असार २०८० नेपालगंज ।  सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचार सुरु भएको छ । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सिंह लाई  बझाङस्थित रितु पोलिक्लिनिकबाट रेफर गरेर बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार सुरु भएको हो । उपचारमा संलग्न मेडिकल कलेजका डाक्टर राहुल डंगौरालाई उद्धृत गर्दै सुदूरपश्चिमकी सांसद गीता चौधरीले मन्त्री सिंहको उपचार सुरु भएको जानकारी दिइन् ।

मन्त्री सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ । रितु पोलिक्लिनिकका डाक्टर रञ्जित चौरासियाले मन्त्री सिंहको टाउकोमा गम्भीर चोट देखिएको बताए। साथै उनको नाकबाट अत्यधिक रक्तश्राव हुनुका साथै अक्सिजनको मात्रा तथा नाडीको चाल कम रहेको छ । तर मुटुको चाल भने अधिक रहेको बताइएको छ ।

उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ । उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ ।

दुर्घटनामा मन्त्रीकी पत्नी अमृता सिंह र नाता पर्ने एक महिलाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार मन्त्री सवार सु.प.प्र.०१००१ झ ४८० नं.को गाडी केदारस्युँ गाउँपालिकामा दुर्घटनामा भएको हो ।