सांसद नमुनाले नरैनापुरका आगलागी पीडित लाई राहतका उपलब्ध गराउने


१५ बैशाख २०८० नरैनापुर, बाँके । लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले नरैनापुरका आगलागी पीडितहरुलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छिन । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३, ४ र ६ मा रहेका आगलागी पीडितलाई भेटेर सांसद नमुनाले प्रदेश सरकारबाट पीडितहरुलाई राहत उपलब्ध गराइने बताएकी हुन ।

‘आगलागीको घटनाले मलाई दुःखी बनाएको छ । तपाईको यो पीडामा केही भएपनि मल्हम लगाउन म पहल गर्छु’ उनले आगलागी पीडितसङ्ग भनिन, ‘प्रदेश सरकारले नियमअनुसार दिने राहतको लागि पहल गर्छु । आवश्यक प्रक्रिया पुर्याएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुहोला ।’

लुम्बिनी प्रदेश सरकारबाट एक घर परिवार ४० हजार रुपैयाँका दरले राहतवापत रकम उपलब्ध गराइने सोही क्षेत्रबाट निर्वाचित सांसद नमुनाले बताइन । प्रहरी मुचुल्का, वडाको सिफारिस लगायतका प्रक्रिया पूरा गर्नको लागि उनले आफ्ना स्वकीय सचिव सूर्यप्रकाश घर्तीलाई समन्वयको भूमिका खेल्न निर्देशन समेत दिएकी छिन ।

‘मेरो स्वकीय सचिव ज्यूले तपाईलाई राहतको लागि गर्नुपर्ने प्रक्रियामा समन्वयको भूमिका समेत खेलिदिनुहुन्छ’ पूर्वमन्त्री समेत रहेकी उनले भनिन, ‘सूर्य जीसँग सम्पर्क गरेर प्रक्रिया पु¥याएर निवेदन दिनुहोला । म तपाईहरुको साथमा छु चिन्ता नलिनुहोला ।’

उनले आगलागी पीडितको मागअनुसार स्थानीय प्रहरीलाई भएको क्षतीअनुसार मुचुल्का बनाइदिन निर्देशन समेत दिइन । ‘आगलागीबाट घरमा भएको क्षतीको पूरै मुचुल्का बनाइदिनुहोला । पीडितले पीडा होइन, सहज रुपमा राहत पाउनुपर्छ । यसमा तपाईको सहयोग हुनुपर्छ’ सांसद नमुनाले प्रहरीलाई निर्देशन दिदैं भनिन, ‘यहाँबाट तपाईहरुले भएको क्षतीको मुचुल्का बनाएर पठाउनुहोला ।’

आगलागी पीडितहरुले मुचुल्का, सिफारिस लगायतका विषयमा समस्या भइरहेको गूनासो गरेका थिए । सोही कुरालाई मध्यनजर गरेर उनले पीडितलाई पीडा होइन राहत दिनुपर्ने बताइन । राहतको लागि गर्नुपर्ने प्रक्रियामा जहाँ समस्या आउँछ त्यहाँ आफु रहेको भन्दै उनले समस्या समाधानको लागि आफु तत्पर रहेको प्रतिबद्धता जनाइन ।