उपाध्यक्षसँग एकल महिला कार्यक्रम : हिमा गाउँपालिकाद्वारा ४ सयभन्दा बढी महिलालाई न्यानो कपडा वितरण

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले ‘उपाध्यक्षसँग एकल महिला प्रोत्साहन कार्यक्रम’ अन्तर्गत एकल महिला तथा ज्येष्ठ नागरिक महिलालाई न्यानो कपडा वितरण गरेको छ।

हिमा गाउँपालिका न्यायिक शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिकाभित्रका चार सयभन्दा बढी एकल महिला तथा ज्येष्ठ नागरिक महिलालाई प्रोत्साहनस्वरूप धोती तथा घुम्चे पछ्यौरा वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले यस्ता कार्यक्रमले महिला सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले उपाध्यक्ष सुर्पुना शाहीले एकल महिलाको सुख–दुःखमा साथ दिने तथा उनीहरूको मनोबल बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताए। अध्यक्ष शाहीले गाउँपालिकाले महिला सशक्तीकरण, जनचेतना अभिवृद्धि तथा सामाजिक कुरीतिविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै जनप्रतिनिधि जनताको सेवामा समर्पित भएर काम गरिरहेको बताए।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुर्पुना शाहीले आफू निर्वाचित भएदेखि महिलामैत्री कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताइन्। उनले यसअघि गर्भवती तथा सुत्केरी महिलालाई कोसेली वितरण कार्यक्रम सञ्चालन गरिएको स्मरण गराउँदै यसपटक एकल महिला तथा ज्येष्ठ नागरिक महिलालाई सम्झनास्वरूप धोती र घुम्चे पछ्यौरा वितरण गरिएको जानकारी दिइन्। “महिलाको आवश्यकता र अवस्थालाई ध्यानमा राखेर आगामी दिनमा अझ प्रभावकारी र उपयोगी कार्यक्रम सञ्चालन गर्नेछौँ,” उपाध्यक्ष शाहीले भनिन्।

हिमा गाउँपालिका न्यायिक शाखाकी सदस्य सचिव मालिका डाँगीले ‘उपाध्यक्षसँग एकल महिला प्रोत्साहन कार्यक्रम’ अन्तर्गत वर्षभरि प्रयोग गर्न मिल्ने न्यानो कपडा वितरण गरिएको बताइन्। उनका अनुसार गाउँपालिकाका चार सयभन्दा बढी एकल महिला तथा ज्येष्ठ नागरिक महिलाले उक्त सामग्री प्राप्त गरेका छन्। उनले आगामी दिनमा महिलाको आर्थिक, सामाजिक तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने कार्यक्रमलाई थप प्राथमिकता दिइने आवश्यकता औँल्याइन्।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जलन्धर भुसाल, महिला तथा बालबालिका शाखा प्रमुख राजलक्ष्मी रावल, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय महिलाको उपस्थिति रहेको थियो।