१४ फाल्गुन २०७९ नेपालगन्ज । भारतबाट लुकाईछिपाई नेपाल ल्याउदै गरेको अवस्थामा (लागूऔषध) ब्राउन सुगरसहित तीन जनालाई बाँके प्रहरीले शनिबार बाँकेको कोहलपुरबाट नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १२, चप्परगौढीस्थित सडक छेउमा रोकीराखेको मोटरसाइकलमा सवार व्यक्तिहरूलाई शंका लागी चेकजाँच गर्दा बढैयाताल गाउँपालिका वडा नम्बर ७, बर्दियाका २१ बर्षिय विशाल सिंह ठकुरी र कोहलपुर नगरपालिका वडा नम्बर ११, बाँकेका १८ बर्षिय निर्जन ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बिशाल सिंह ठकुरीको साथबाट ११५ ग्राम ७८० मिलिग्राम र निर्जन ढकालले कानमा लुकाई राखेको २२० मिलिग्राम गरी जम्मा ११६ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको जनाएको छ । प्रहरीले उनिहरुको साथबाट मोबाईल ३ थान, ९ हजार ८ सय रुपैयाँ नगद र भे.१३प. २७३ नम्बरको निलो रङको आर.टि.आर. अपाची मोटरसाईकलसमेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुको प्रारम्भिक बयानमा उक्त लागूऔषध भारतको बलई गाउँबाट ल्याएको र बलई गाउँबाट ल्याउँदा बढैयाताल गाउँपालिका वडा नम्बर ७ का २८ बर्षिय बिक्रम सिंह ठकुरी पनि साथमै रहेको भन्ने खुलेपछि निज ठकुरीलाई कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका तीनैजनालाई थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बिहानीको तारा । १४ फाल्गुन २०७९, आईतवार १२:१४