बालुवाटारमा कांग्रेससहित चार दलको बैठक जारी

१२ फागुन २०७९ काठमाडौं । नेपाली कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी छन् ।

बैठक राष्ट्रपति पदको निर्वाचनका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि छलफल गर्ने सहमति गरेको थियो । आजको बैठकबाट कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूतिने र राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्ने नेताहरु बताउँछन् । २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु आजै साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।