गाडी ठक्करबाट वडाध्यक्ष कार्कीको निधन, राजमार्ग अवरुद्ध

१४ फागुन २०७८, सुर्खेत । फोर्स गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटनामा घाइते भई उपचारका लागि काठमाडौं लगिएका सुर्खेत भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको निधनपछि सुर्खेत नेपालगञ्जको रत्न राजमार्ग बन्द भएको छ । वडाध्यक्ष कार्कीको उपचारका क्रममा काठमाडौंमा निधन भएपछि आक्रोशित स्थानीयवासीले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् । उहाँको शुक्रबार राति काठमाडौँको न्यूरो अस्पतालमा निधन भएको थियो। आक्रोशित स्थानीयले दोषीलाई कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरुले आज बिहानैदेखि रत्नराजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध गरे। उक्त सडक अहिलेसम्म खुल्न सकेको छैन । सडक अवरोधका कारण गाडी चल्न सकेका छैनन् भने यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

रत्नराजमार्गअन्तर्गत भेरीगङ्गा नगरपालिका–१२ छिन्चु बजार नजिकै नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्ष कार्की गम्भीर घाइते भएका थिए । नेकपा (माओवादी केन्द्र) बाट जननिर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो । कुशल र सक्षम नेतृत्वका रुपमा आफ्नो पहिचान स्थापित गर्नुभएका वडाध्यक्ष कार्की सुर्खेत जिल्लाकै निर्वाचित वडाध्यक्षमध्ये सबैभन्दा कान्छा वडाध्यक्ष हुनुहुन्थ्यो ।