माघ ५ गते सभामुखको निर्वाचन

२६ पुस २०७९ काठमाण्डौं । प्रतिनिधिसभा सभामुख पदको निर्वाचन यही माघ ५ गते हुने भएको छ । मंगलवार प्रतिनिधिसभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सभामुख पदको निर्वाचनको मितिबारे संसदलाई जानकारी गराएका हुन् ।

त्यस अवसरमा उनले संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सो निर्वाचनको कार्यक्रमसम्बन्धि सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए। सभाका ज्येष्ठ सदस्य राणाले भने, ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि यही २०७९ साल माघ ५ गते बिहीबारको दिन तोके ।

साथै सोही नियमको उपनियम १ बमोजिम संघीय संसदको महासचिव डा. भरतराज गौतमलाई सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धि सूचना मिति २०७९ माघ ३ गते मंगलबारको दिन प्रकाशित गर्न समेत निर्देशन दिन्छु ।’ सत्तारुढ दलहरुबीच सभामुख नेकपा (एमाले)लाई दिने सहमति भएको छ । प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बिहीबार बिहान ११ बजे बस्नेगरी सकिएको छ ।