हिजो गाली गर्नेहरू पश्चाताप गरेर माओवादीमा फर्कदैछन् : प्रचण्ड

३ बैशाख २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी विभाजन भएरै बिग्रिएको बताउँदै माओवादी एक हुने भयो भने अरू कसैले जित्न नसक्ने बताएका हुन् । नवलपुरमा शहीद परिवारसँग कुराकानी गर्दै प्रचण्डले माओवादीहरू मिल्नुपर्ने मत देशभरबाट आउन थालेको जिकिर गरेका हुन् ।

उनले भने, वैशाख १ गते मात्र सुदूरपश्चिमका सबैजसो फेरि पार्टीमा एकताबद्ध हुनुभएका छन् । विप्लव, बाबुरामजीको पार्टीबाट सयौँ जोडिनुभएको छ । हिजो प्रचण्डलाई गाली गरेर हिँड्नेहरू गल्ती गरिएछ भन्दै पश्चात्ताप गरेर फर्किनुभएको छ । उनले विचारलाई राम्रो बनाउन महाधिवेशनको आयोजना गरिएको बताउँदै अब एकताको प्रक्रियालाई पनि तीव्र गतिमा अघि बढाउने जिकिर गरे । उनले भने, माओवादी एक ठाउँमा केन्द्रित हुन्छन् । आन्दोलनलाई एकजुट गरेर देशको बागडोर माओवादीको हातमा ल्याउनुपर्छ । अनि मात्र शहीद परिवारलाई सम्मान र राहत दिन सक्छौँ । अध्यक्ष प्रचण्डले आफूले लडाइँ छाडेर नभागेको बताउँदै शहीदका सपना पुरा गर्ने प्रतिबद्धता जनाए ।