२८ कात्तिक २०७९ सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ‘विकास, सुशासन र समृद्धिको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार’ भन्ने मूल नारा रहेको प्रतिबद्धतापत्र सोमबार सार्वजनिक गरिएको हो ।
३२ पृष्ठको प्रतिबद्धतापत्रमा कर्णाली सरकारको पाँच वर्षको समीक्षा गर्नुका साथै गठबन्धन सरकारले निम्त्याएको बेथितिबारे उल्लेख छ । एमालेले आफ्नो अग्रणी भूमिकाकै कारण प्रदेशसभाबाट प्रदेशको नाम कर्णाली र सुर्खेतको वीरेन्द्रनगरलाई राजधानी तोक्न सफल भएको जनाएको छ । ०७४ सालमा नेकपा माओवादी केन्द्रसँगको चुनावी तालमेल र कर्णालीप्रति पार्टी केन्द्रको बेवास्ताको कारण प्रदेशसभामा बहुमत हुँदाहुँदै पनि माओवादी केन्द्रको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
सत्ताको लागि माओवादी केन्द्रले कर्णालीबाटै संसदीय व्यवस्थामा नयाँ विकृतिको बिजारोपण गरेको एमालेको आरोप छ । माओवादी केन्द्र र नेपाली कांग्रेससहितको गठबन्धन सरकार जनताका आकांक्षालाई सम्बोधन गर्नुभन्दा स्वयं अनियमितता, भ्रष्टाचार र कमिशनतन्त्रको नाइके बन्न पुगेको प्रतिबद्धतापत्रमा उल्लेख छ । सत्ता भागबण्डाको लागि अनुचित तरिकाले मन्त्रालय फुटाउने, अनुदानको नाममा कमिसनको लागि आफन्त, पार्टी कार्यकर्ता र आसेपासेलाई करोडौँ रकम पोस्ने, सत्ता टिकाउन छिटो–छिटो मन्त्रीहरु परिवर्तन गर्ने र सांसद जति सबैलाई मन्त्रीको भाग पु¥याउने जस्तो अराजनीतिक काम गरेर प्रदेश सरकारप्रति जनतामा वितृष्णा फैलाउने काम भएको एमालेको ठहर छ ।
एमालेको प्रदेश प्रतिबद्धतापत्रमा कर्णाली जनता स्वास्थ्य अभियान, प्रादेशिक स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना, ७० वर्ष नाघेका सम्पूर्ण ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार, जडीबुटी प्रशोधन केन्द्र स्थापना, पारामेडिकल प्राविधिक स्कूलको स्थापना, हरेक नागरिकलाई दुई हप्ते अनिवार्य स्वास्थ्य सचेतना, सुर्खेतमा मेडिकल कलेज, विद्यालय जान नसक्ने बालबालिकाका लागि विशेष व्यवस्था गरिने उल्लेख छ ।
यस्तै, कर्णालीका सबै स्थानीय तहलाई पूर्ण साक्षर घोषणा, विद्यालयमा बालिकामैत्री शौचालयको व्यवस्था, बालिका छात्रवृत्ति र विद्यालय नर्स सेवा कार्यक्रम, विद्यार्थीका लागि पोशाक, दिवा खाजा र पाठ्यसामग्री, सिप र रोजगारीसँग आवद्ध गरी पढ्दै र कमाउँदै, आवासीय विद्यालय स्थापना, मातृभाषालाई आधारभूत शिक्षाको पाठ्यक्रममा समावेश, प्रदेश पर्वतीय विश्वविद्यालय, जुम्लाको सिँजालाई ऐतिहासिक साँस्कृतिक केन्द्र, प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न खेलमैदान बनाउने योजना पनि एमालेले प्रतिबद्धतापत्रमा समेटेको छ ।
त्यस्तै प्रदेशस्तरीय पर्यटन गुरुयोजना, रारा र फोक्सुण्डो ताल पर्यटन विकास बोर्ड, स्यार्पु र कुपिण्डे ताल पर्यटन विकास समिति, जुम्लामा खस भाषा र संस्कृति संग्रहालय, एक स्थानीय तह, एक औद्योगिक ग्राम, कृषि उत्पादनमा आधारित उद्योगलाई सहुलियत ऋण, ज्येष्ठ तथा अशक्त नागरिकलार्ई निःशुल्क स्वास्थ्य परीक्षण, महिला तथा बालबालिकाहरूको उद्धार र पुनस्र्थापना, विपन्न परिवारका सदस्यलाई प्रदेशभित्र हुने रोजगारीका अवसर, अति विपन्न परिवारलाई उच्च तहसम्मको शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी र विद्युत निःशुल्क, सरकारी कार्यालयहरुलाई क्रमशः कागजमुक्त बनाउने एमाले कर्णाली प्रदेशको एजेण्डा छ ।
प्रतिबद्धतापत्रमा कर्णाली प्रदेशको समग्र विकास र समृद्धिका लागि उपयुक्त नीति निर्माण गर्ने, कानुन निर्माणमा जनसहभागिता सुनिश्चित गर्ने, संविधानप्रदत्त साझा अधिकारका लागि संघ तथा स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्ने उल्लेख छ । प्रतिबद्धतापत्रसंगै एमालेले कर्णाली प्रदेशलाई सबल, समृद्ध, सुशासन र अपार सम्भावनायुक्त प्रदेशको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । आफ्ना उम्मेदवारहरुले आर्थिक अनियमितता गर्ने छैनन् न कुनै भ्रष्टाचारमा संलग्न नहुने भनेर प्रतिबद्धतापत्रमा सार्वजनिक संकल्प गरिएको छ ।



बिहानीको तारा । २८ कार्तिक २०७९, सोमबार १९:३६