नयाँ बानेश्वर तनावग्रस्त

४ फागुन २०७८, सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने तयारी गरेसँगै चौतर्फी विरोध सुरु भएको छ। यसैक्रममा बुधबार सत्ता गठबन्धनकै भातृसंगठनले पनि विरोध जनाएका छन्।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलका कार्यकर्ताहरु बिहानैदेखि बानेश्वर क्षेत्रमा भेला भएर एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ। भीड तितरवितर पार्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको छ।

यसैबीच एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेको छ। स्वतन्त्र नागरिक समाजले बुधबार अनामनगरमा मोटरसाइकलसहित एमसीसीको समर्थनमा प्रदर्शन गरेको छ। स्वतन्त्र नागरिक समाजले ‘वेल कम एमसीसी’लेखिएको ब्यानरसहित मोटरसाइकल र्‍याली निकालेर एमसीसीको पक्षमा प्रदर्शन गरेको हो।

यता संसद बैठकमा पनि प्रमुख प्रतिपक्षी एमालेले अवरोध कायम राखेको छ। एमालेको अवरोधका बीच थारु आयोगको प्रतिवेदन पेश तथा शोक प्रस्ताव पारित गर्दै सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । अब अर्को बैठक फागुन ६ गते एक बजेका लागि बोलाइएको छ। अर्को बैठकमा एमसीसी टेबल हुने सम्भावना छ ।