
१७ असार २०८० काठमाडौँ । दीपेन्द्रसिंह ऐरीको शानदार ब्याटिङ र सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनको मद्दतले आईसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईमाथि ३ विकेटको रोमाञ्चक जीत हासिल गरेको छ । यूएईले प्रस्तुत गरेको १ सय ८२ रनेको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो ।
नेपालले खेलमा खराब सुरुवात गरेको थियो । ओपनर अर्जुन साउद मात्र १ रन बनाएर आउट भएका थिए । २९ रनमा नेपालले १३ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमायो । त्यसपछि लगातार विकेट गुमाएको नेपालका लागि कुशल भुर्तेल आउट हुँदासम्म टोलीले ६ विकेटको क्षतिमा मात्र ६३ रन बनाउन सकेको थियो । भुर्तेलले ३५ रन बनाउँदा रोहित पौडेल, भीम सार्की र आरिफ शेखले दोहोरो अङ्कमा रन नै जोड्न सकेनन् ।
गुल्सन झा पनि १२ रन बनाएर आउट भएपछि नेपाल ७ विकेटको क्षतिमा १०६ रनको खराब स्थितिमा रहेको थियो । त्यसपछि भने ऐरीले लामिछानेसँग मिलेर नेपालको इनिङ्सलाई सम्हाल्दै टोलीलाई जीतसम्म डोर्याए । ऐरीले सर्वाधिक ७९ रन बनाए भने लामिछानेले २३ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । यूएईका लागि कप्तान भृतिया अरविन्दले सर्वाधिक ४४ रनको योगदान दिए । रोहन मुस्तफाले ३५ तथा बसिल हमिदले २९ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए । त्यस्तै प्रतिस जिसी, गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।



बिहानीको तारा । १७ असार २०८०, आईतवार २०:२०