१९ कार्तिक २०७९ काठमाण्डाैं । हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र सोही पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं. २ का उम्मेदवार कोषराज सुवेदीलाई दलीय आवद्धता स्पष्ट नगरी ‘काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको साथ छ, लौरोको विजय निश्चित छ’ भनी प्रचारप्रसार गरेको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
उक्त कार्यबाट मंसिर ४ गते हुने निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने कार्य भएकाले आफूलाई अमुक व्यक्तिको समर्थन छ भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्दा जानाजान प्रचलित निर्वाचन कानूनको उल्लंघन समेत भएको देखिएको आयोगको पत्रमा जनाइएको छ । आयोगले उक्त दल र दलका उम्मेदवारले स्वतन्त्रको लौरो अभियान भनी प्रचारप्रसार गरेको विषयमा यसपूर्व नै पत्राचार गरेको थियो ।
आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम निर्वाचन आचारसंहिता बनाई असोज १२ गतेदेखि लागू गरिसकेको छ । ऐनको दफा २३ को उपदफा (१) मा ‘दफा २२ बमोजिम आयोगले बनाएको आचारसंहिता पालना भए नभएको सम्बन्धमा आवश्यकता अनुसार संयन्त्र निर्माण गरी जाँचबुझ तथा अनुगमन गर्न सक्ने’ तथा उपदफा (२) ‘उपदफा (१) बमोजिम जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिताको उल्लंघन भएको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिनेछ’ भन्ने व्यवस्था छ ।
आयोगले दिएको आदेश बमोजिम काम कारवाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।
दलीय आवद्धता स्पष्ट नगरी ‘काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको साथ छ, लौरोको विजय निश्चित छ’ भनी प्रचारप्रसार गरेको सोही विषयमा सोही आयोगले उक्त दलका उम्मेदवार सुवेदीलाई बेग्लै पत्र पठाइ स्पष्टीकरण सोधेको हो ।



बिहानीको तारा । १९ कार्तिक २०७९, शनिबार १८:१३