यसपटक सिंजाली जनताकातर्फबाट

  • मनऋषि धिताल

प्रिय सिंजाली जनता
धैर्य गर्नुस ,
यसपटक तपाइहरुको
काठ्माण्डौ बिरुद्दको बिद्रोह हार्ने छैन।

उहिले देखि
अहिलेसम्म
पटक पटक
हरक्षण
व्यहोरेको धोका, घृणा , अपमान र तिरस्कार
यसपटक हार्ने छैन।

बन्द आखा
र,भ्रमित दृस्टी भएको
काठमाण्डौ र काठमाण्डौका वारेशहरुले
यसपटक हेप्न पाउने छैनन्,
सलाम सिंजा जागरणलाइ ।
इतिहासको पाङ्ग्रा
पछाडी घुमाउन खोज्नेहरुलाई
युग फेरिएको घडीको सुइ
फेरी उल्टो घुमाउन खोज्नेहरुलाई
सिंजाले सिकाउने छ
यो चेतनाको समयको हो
यो सभ्यता पुनजागरणको समय हो ।

कोहि क्रान्तिकारी
छ भने यो समयको
सिन्जाको दुन्दुभि बुझोस्
कोहि जनताको काखमा छ भने
सिन्जाले “सास”ले बोलेको बुझोस्
आश र त्रासले “चुपचाप” छैन
अझै सिंजा “साहस” ले बोलोस् ।

हिमा बोल्छिन
सुन सुन तिला !
सिन्जाको आवाज तिमिपनि बोल।

पातारासी बोल , तातोपानी बोल
आफ्नै भगिनी भेरिखोला बोल
बोल न बोल सिन्जाको भाखा
खलङ्गा बोल , नानीकोट
बोल
मूसीकोट बोल , बारेकोट बोल
इतिहासको पाङ्ग्रो
सुल्टो घुमाउन बोल हे ! कर्णाली
बोल न बोल ।

चुपचाप गमगढी तिमि पनि बोल
दुल्लू बोल , सुर्खेत बोल
मानसरोबरको संदेश बोकी
हसिलो सिमिकोट “सिंजा” बोल
फराकिलो छाति भएको दुनै बोल
सल्यान बोल , कल्यान बोल
यसपटक सिन्जाको “लय” बोल।
समृद्द
कर्णालीको
खाका कोरिनेछ ,
घुम्टो भित्र
लुकाइएको
उज्यालो कर्णालीको
अनुहार उघारिनेछ।

कर्णालीले उहिल्यै
बंगालको खाडितर्फ
निसर्त हुत्याएको प्रदुषित हवा
सलह बोकेर उकालिदै गर्दा
जुम्लाका जिउलाहरुमा
लह लह धान जोगाउन
रातो मार्सिको बिउ जोगाउन
एक पटक सिंगो नेपाल बोल
सिंजा बोल ! सिंजा बोल
यस पटक सिंगो नेपाल बोल।