चिकित्सक र नर्सहरुको लाप्रवाहीले रजिया सहित २ जना नवजात शिशुको मृत्यु

३० साउन २०७९ नेपालगन्ज  । भेरी अस्पतालमा सुत्केरी हुन पुगेकी एक महिलाको मृत्यु भएपछि परिवार र आफन्तले न्याय माग्दै अस्पताल प्रशासन घेरा हालेका छन्। अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया रजिया खातुनको मृत्यु भएको हो ।

सुत्केरी ब्यथाले च्यापेपछि उनी स्थानीय भेरी अस्पतालमा पुगेकी थिइन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सराफत हुसेन शेषका अनुसार चिकित्सकले महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए।

शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र दुबै बच्चाको मृत्यु भएको उनले बताए। चिकित्सकको लापरबाहीले सुत्केरी आमा र बच्चाको मृत्यु भएको भन्दै आफन्तले सोमबार बेलुकी केहीबेर तनाव सिर्जना गरेका हुन्। परिवार र आफन्तले केहीबेर तनाव सिर्जना गरेपनि अहिले शान्त रहेको प्रहरीले जनाएको छ। पिडित पक्षले उपचारमा संलग्न चिकित्सक र नर्सहरुलाई सार्वजनिक गरी मृत्युको वास्तविक कारण बताउनु पर्ने माग राखेका छन् । पिडितहरुले अस्पतालका मेसु बद्री चापागाई आफनो मलहम पट्टी क्लिनिकमा समय बिताउने गरेको र उपचारमा संलग्न नर्सहरु टिकटक बनाएर बस्ने गरेको आरोप लगाउदै उनीहरुले चिकित्सक र नर्सहरुको लाप्रवाहीका कारण रजिया सहित उनको २ वटा बच्चाको ज्यान गएको आरोप लगाएका छन ।