जुम्ला । सिँजा गाउँपालिका वडा नम्बर ३ धिताललिही मा विद्युतको तार सट भएर एक घरमा आगलागी भएको छ । सानी “नानी” खोला लघुजविद्युत आयोजनाबाट ल्याएको तार घरमा सट भएर आगलागी भएको हो ।
काठ, ढुङ्गा, सिमेटले बनेको तीन तलाको १५ कोठे घरमा आगलागी भएर ८ कोठा जलेको ईलाका प्रहरी चौकी नराकोटले जनाएको छ । घरको बाहिरी भाग हेर्दा जलेको नदेखिएपनि भित्र जलेको देखिन्छ ।
कम्मल ९, गलैँचा ९, राडी ६, लिउ २, पछौरी सल १६, तामा गाग्राी १२, धान ७ बोरा, गहुँ ५ बोरा, कोदो ३ बोरो, जौँ २ बोरा, सिमी ३ बोरो, चामल २ बोरा, विज २ वटा, तिलहरी १ सिक्री १ मंगलसुत्र १, रिङ्ग १, र चाँदिका वाला १ जोरा जलेको घर मालिक सन्तके रोकायाले जानकारी दिनु भयो । उहाँका अनुसार घर भित्र भएको भाँडाकुँडा, अन्न र लत्ताकपडा जलेर नष्ट भएको छ ।
बेलुका ५ बजेतिर भएको आगलागी लगभग साढे ६ बजेसम्म नियन्त्रणमा लिन नसकेको स्थानीयले बताएका थिए । स्थानीयको सूचना पाएपछि प्रहरी आगलागी स्थलमा पुगेको थियो भने प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएको स्थानीयले बताए ।
प्रहरी चौकीका इन्चार्ज बिष्नु श्रेष्ठका अनुसार आगलागीबाट भएको क्षतिको पूरा विवरण आउन बाँकि छ ।
बिहानीको तारा । २६ माघ २०८०, शुक्रबार १२:४७