बर्दिया । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन नगरपालिका शिक्षा शाखाको समन्वयमा “लैङ्गिक रूपान्तरणमुखी समावेशी कक्षा व्यवस्थापन, बाल संरक्षण तथा गुनासो सुनुवाइ संयन्त्र“ सम्बन्धी दुईदिने तालिम सम्पन्न गरेको छ ।
विद्यालयलाई सुरक्षित, समावेशी, लैङ्गिक उत्तरदायी तथा बालमैत्री सिकाइ केन्द्रका रूपमा विकास गर्दै प्रत्येक बालबालिकाले सम्मानका साथ सिक्न, सहभागिता जनाउन र आफ्नो क्षमता विकास गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले सो तालिम सञ्चालन गरिएको हो ।
तालिममा मधुवन नगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, जेसी फोकल शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावक–शिक्षक संघका अध्यक्ष गरी २० जनाको सहभागिता रहेको थियो ।
हभागीहरूले अन्तरक्रियात्मक छलफल, अनुभव आदानप्रदान तथा समूहगत अभ्यासमार्फत विद्यालयमा रहेका चुनौतीहरूको समीक्षा गर्दै समावेशी र समानतामूलक शिक्षालाई प्रवद्र्धन गर्ने व्यावहारिक उपायहरू पहिचान गरेको बाँके युनेस्को क्लबले जनाएको छ ।
तालिमका क्रममा समावेशी कक्षा व्यवस्थापन, बाल संरक्षण तथा सुरक्षा, सकारात्मक अनुशासन, प्रभावकारी गुनासो सुनुवाइ तथा सन्दर्भ प्रणाली लगायतका विषयमा विस्तृत सहजीकरण गरिएको थियो । साथै विद्यालय, अभिभावक, स्थानीय सरकार तथा समुदायको साझा जिम्मेवारीमार्फत बालबालिकाका लागि सुरक्षित र सहयोगी सिकाइ वातावरण निर्माण गर्ने विषयमा विशेष जोड दिइएको थियो ।
तालिमको सहजीकरण मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल र बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकेले गर्नुभएको थियो भने बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर सबित्रा भाटले प्राविधिक सहयोग प्रदान गर्नुभएको थियो ।
तालिममा समूह छलफल, केस अध्ययन, भूमिका निर्वाह, अनुभव आदानप्रदान, समस्या समाधान अभ्यास तथा अन्य सहभागितामूलक सिकाइ विधिहरू अपनाइएको थियो ।
तालिमको उपलब्धिस्वरूप सहभागीहरूले विद्यालयस्तरमा लैङ्गिक उत्तरदायी शिक्षण अभ्यासलाई सुदृढ गर्ने, बाल संरक्षण तथा सुरक्षा उपायलाई संस्थागत गर्ने, गुनासो सुनुवाइ तथा सन्दर्भ प्रणालीलाई प्रभावकारी बनाउने तथा सम्मानजनक, समावेशी र हिंसामुक्त विद्यालय वातावरण प्रवद्र्धन गर्ने कार्ययोजना तयार गरेको जनाईएको छ ।
सहभागीहरूले विद्यालय, परिवार, स्थानीय सरकार तथा समुदायबीच प्रभावकारी सहकार्य गर्दै प्रत्येक बालबालिकालाई सुरक्षित, समावेशी, समानतामूलक र सहयोगी सिकाइ वातावरण सुनिश्चित गर्न आफूहरूले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
सो अवसरमा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल, स्थानीय सरकार, विद्यालय तथा समुदायसँगको सहकार्यलाई निरन्तरता दिँदै गुणस्तरीय, समावेशी तथा बालकेन्द्रित शिक्षाको प्रवद्र्धनमार्फत बालबालिका तथा किशोरकिशोरीको समग्र विकास र सशक्तीकरणमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।




सन्तोष कुमार बिष्ट । १७ श्रावण २०८३, आईतवार ०९:५५