हुम्लामा सीडीओ देखि सञ्चारकर्मीसम्मले गरे नमूना मतदान

२७ वैशाख २०७९ हुम्ला । स्थानीय तहको निर्वाचनमा अभ्यासका लागि हुम्लामा प्रमुख जिल्ला अधिकारी सीडीओ, न्यायाधीशदेेखि सञ्चारकर्मीसम्मले नमूना मतदानमा भाग लिएका छन् । स्थानीय तहको निर्वाचन ३ दिन मात्रै बाँकी रहेको समयमा हुम्लाको सदरमुकाम सिमकोटमा प्रमुख जिल्ला अधिकारी सीता परियार, न्यायाधीश जगतबहादुर पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावतदेखि लगायतले नमूना मतदान गरेका हुन् ।

सिमकोट गाउँपालिका ६ स्थित कालाशिल्ता आधारभूत विद्यालयमा भएको नमूना मतदान केन्द्रमा नमूना मतदान भएको हो । हुम्लामा मतदाता शिक्षा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । वृद्धवृद्धा अशक्त आशयका लागि मतदाता शिक्षा आवश्यक देखिएको प्रजिअ परियारको भनाइ छ । नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले नमूना मतदान गर्दै हुम्लामा मतदाता शिक्षा आवश्यक देखिएको बताए । कालाशिल्ता आधारभूत विद्यालयमा नमूना मतदान गर्न पुगेका अध्यक्ष रावतले सर्वसाधारण नागरिकका लागि मतदाता शिक्षा अनिवार्य देखिएको बताए । हुम्ला जिल्लामा धेरैजसो मतदाताले मत बदर गर्ने सम्भावना रहेको रावतले बताए ।