नेपाल वायुसेवा निगमले चैत महिनाको किस्ता तिर्‍यो

काठमाडौं । नेपाल वायुसेवा निगम अन्तर्राष्ट्रिय उडानका लागि जहाज खरिद गर्न लिएको ऋणको चैतको किस्ता भुक्तानी गरेको छ ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई निगमले चैत महिनाको किस्ता भुक्तानी गरेको हो । दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्न दुई कोषबाट ऋण लिएको थियो ।

नेपाल वायुसेवा निगमका अनुसार दुई न्यारोबडी जहाजको चैत महिना (२०८०) को किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी (३० चैत २०८०) कुल ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ किस्ता भुक्तानी गरिएको हो । निगमले २०८० चैतसम्म ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको जनाएको छ ।

कोरोना महामारीले निगमको व्यापारमा समेत प्रतिकूल असर परेकोले सो अवधिको ब्याज, हर्जना र पेनल छुटका साथै किस्ता संख्या वृद्धि गरी ऋण दायित्व भुक्तनीमा सहजीकरण गरिदिन दुवै कोषलाई अनुरोध पत्र समेत पठाइएको निगमले जनाएको छ ।