लुम्बिनीको राजधानी देउखुरीमा सहकारी दर्ता कार्यालय स्थापना

२० चैत, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा प्रदेश स्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । ६५औं सहकारी दिवसको अवसरमा आइतबार राप्ती गाउँपालिकाको मौरीघाटस्थित कार्यालयको उट्घाटन प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गरेका हुन् ।

प्रदेश स्तरीय सहकारी संस्थाको दर्ता, अनुगमन, नियमनलगायतका सबै कार्य गर्न कार्यालय स्थापना गरिएको लुम्बिनी प्रदेश सरकारको भनाइ छ । यसअघि आर्थिक मामिला तथा सहकारी मन्त्रालयले नै सहकारी दर्ता लगायतको काम गर्दै आएको थियो । अब भने प्रदेशभरकै सहकारी सम्बन्धी सबै कामहरु सोही कार्यालयबाटै हुनेछ । कार्यालय उट्घाटनमा बोल्दै मन्त्री खड्काले मुलुक संघीयतामा गएसंगै सहकारी पनि तीन तहको सरकारको मातहतमा पुगेको बताए । उनले लुम्बिनी प्रदेशभरका सहकारी संस्थाहरुलाई थप व्यवस्थित बनाउने बताए ।