ऐन कानुनहरु पनि आर्थिक वृद्धिमैत्री छैनन्, सुधार्न खोज्दैछौं : अर्थमन्त्री

११ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ऐन कानुनहरु पनि विकास तथा आर्थिक वृद्धिमैत्री नभएको बताएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको अर्थशास्त्री सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले नीतिगत सुधारहरु नहुँदा पनि धेरै विकास हुन नसकेको बताएका हुन् ।

‘हाम्रो जंगलमा काठ कुहिएका छन्, उता विदेशबाट काठ आयात गर्नुपर्छ,’ उनले भने, ‘जंगलमा कुहिन्छन् तर चलाउन पाइँदैन, हाम्रो त ऐन कानुनहरु पनि आर्थिक वृद्धिमैत्री छैनन् ।’ उच्च अंकको आर्थिक वृद्धिका लागि धेरै ऐन कानूनहरु सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । यसका लागि सरकार र आफू गम्भीर रहेको भन्दै ऐन नियम बदल्न सरकार लागि परेको उनले बताए ।

कतिपय देशहरुले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरेर निकै राम्रो अर्थतनत्र बनाएको भन्दै अब नेपालमा पनि आर्थिक वृद्धि दोहोरो अंकमा वृद्धि गर्न अभयिानका रुपमा अघि बढाउनु पर्ने अर्थमन्त्रीले बताए । ‘दुई अंकको आर्थिक वृद्धि गर्ने घोषणासहित जानु पर्ने स्थिति आएको छ, अभियानका रुपमा लिएर जाँदा त्यो सहज पनि हुनेछ’ उनले भने ।

नेपालमा विकासका लागि अन्य देशहरुको तुलनामा सहज भएको समेत उनले बताए । विगतमा भएका कामहरुको विषयमा समीक्षा गरेर कमीकमजोरी पत्ता लगाएर अघि बढ्ने हो भने आर्थिक वृद्धिदर दुई अंकमा गर्न गाह्रो नपर्ने उनले बताए । ६० वर्षको योजनावद्ध विकासको समीक्षा गरौं, हामी कहाँ पुग्यौं ? अरु कहाँ पुगे । संरचनागत कहाँ के गर्‍यौं ? नीतिगत के गर्‍यौं ?, ’ अर्थमन्त्री शर्माले भने, ‘के कमजोरी गर्‍यौं भन्ने पाठ सिकेर सुधार गर्न सकियो भने सम्भावना अपार छ, प्रकृतिले धेरै दिएको छ । डेन्टिङ पेन्टिङमात्रै हामीले गर्ने हो ।’