सोफिया स्कुल नेपालगन्जको मानवीय पहल: बाढीपीडितका लागि ३ लाख ४५ हजार ७ सय ७१ रुपैयाँ सहयोग


नेपालगन्ज । प्राकृतिक विपद्मा परेका नागरिकको सहयोगार्थ नेपालगन्जको सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलले ३ लाख ४५ हजार ७ सय ७१ रुपैयाँ राहत सहयोग गरेको छ। नेपालगन्ज उपमहानगरपालिका–१० स्थित विद्यालयले विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवस्थापनको संयुक्त पहलमा संकलन गरेको उक्त रकमको चेक शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यलाई हस्तान्तरण गरेको हो।

विद्यालयले हालै रसुवालगायत विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि राहत संकलन अभियान सञ्चालन गरेको थियो। अभियानमा विद्यार्थीहरूले आफ्नो खाजा खर्च तथा व्यक्तिगत बचतबाट रकम सहयोग गरेका थिए भने शिक्षक र कर्मचारीले समेत स्वेच्छिक योगदान गरेका थिए।

चेक हस्तान्तरण कार्यक्रममा प्याब्सन बाँकेका सचिव विज्ञान शाह, नेपालगन्ज उपमहानगर अध्यक्ष मानबहादुर थापालगायत प्याब्सनको टोलीको सहभागिता थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन, शिक्षक, कर्मचारी र विद्यार्थी पनि सहभागी थिए।

विद्यालयका संस्थापक सदस्य डा. डक्टप्रसाद धितालले विपद्को समयमा सबै नेपाली एकजुट भएर पीडितको साथमा उभिनुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै सामाजिक उत्तरदायित्व, सेवा, सहानुभूति र मानवीय मूल्य सिकाउनु विद्यालयको उद्देश्य रहेको बताउनुभयो।

“विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट सहयोग गरे, शिक्षक र कर्मचारीहरूले स्वेच्छिक योगदान गर्नुभयो। विपद्को बेला हातेमालो गर्नु नै साँचो शिक्षा हो,” उहाँले भन्नुभयो।

विद्यालयका संस्थापक अध्यक्ष केबी बसेलले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडाले विद्यालय परिवारलाई मर्माहत बनाएको बताउनुभयो। दुःखको समयमा पीडितको साथमा उभिनु विद्यालयको सामाजिक दायित्व भएको उहाँको भनाइ थियो।

“यो सहयोगले सबै समस्या समाधान गर्दैन भन्ने हामीलाई थाहा छ। तर दुःखको घडीमा साथ दिनु हाम्रो कर्तव्य हो,” उहाँले भन्नुभयो।

विद्यालयकी निर्देशक तथा संस्थापक सुशिला बसेलले राहत तथा पुनःस्थापनाका अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो। संकटमा परेका नागरिकको पीडा साझा भएकाले विद्यालय परिवारले आवश्यक सहयोग जुटाउने प्रयास जारी राख्ने उहाँको भनाइ छ।

चेक ग्रहण गर्दै प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले सोफिया स्कुलले उदाहरणीय सामाजिक उत्तरदायित्व प्रदर्शन गरेको बताउनुभयो। शिक्षण संस्थाले विपद्को समयमा समाजको अग्रपंक्तिमा रहेर सहयोग गर्नुपर्ने सन्देश सोफिया स्कुलले दिएको उहाँको भनाइ थियो।

उहाँले बाँकेका अन्य निजी विद्यालयलाई समेत विपद्पीडितको सहयोगका लागि यस्ता मानवीय अभियानमा सहभागी हुन आग्रह गर्नुभयो।

विद्यालयले विद्यार्थीहरूमा सेवा, सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले आगामी दिनमा पनि सामाजिक तथा मानवीय अभियानलाई निरन्तरता दिने जनाएको छ।