नेपालगन्ज । बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालसँगको साझेदारी तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा सञ्चालन गरेको जीवनका लागि पोषण परियोजना अन्तर्गत बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा संयुक्त अनुगमन तथा स्थलगत अवलोकन कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अनुगमन भ्रमणको मुख्य उद्देश्य कुपोषणबाट प्रभावित कडा कुपोषण तथा मध्यम कुपोषणका बालबालिकाको उपचारमा भर्ना तथा फलोअपको अवस्थाको समीक्षा गर्नुका साथै स्वास्थ्य संस्थामार्फत प्रदान गरिँदै आएका पोषण सेवाहरूको प्रभावकारिता सुनिश्चित गर्नु रहेको थियो ।
साथै, स्वास्थ्य शाखा, स्वास्थ्य संस्था प्रमुख, पोषण फोकल पर्सन, महिला स्वास्थ्य स्वयंसेविका तथा सेवाग्राही परिवारसँग अन्तरक्रिया गरी समुदायस्तरमा सञ्चालन भइरहेका पोषणसम्बन्धी क्रियाकलापहरूको प्रभावकारिताको समेत अनुगमनका क्रममा अवलोकन गरिएको थियो ।
अनुगमन टोलीले नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखामा स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार साहसँग भेटघाट तथा छलफल गरी पोषण सेवाको वर्तमान अवस्था र कुपोषण व्यवस्थापनसम्बन्धी प्रगतिको समीक्षा गरेको थियो ।
समिक्षाको क्रममा नरैनापुरमा ११२ जना बालबालिकामा कडा किसिमको कुपोषण रहेकोमा ७४ जना मात्र उपचारमा रहेको देखियो । कडा कुपोषित ३८ जना बालबालिका अझै पनि उपचारमा नगएर समुदायमै रहेका छन । ३४९ जना मध्यम खालको कुपोषित बालबालिकामध्ये २६६ जना मात्र स्वास्थ्य संस्थामा उपचार गराईरहेको नरैनापुर स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिनुभयो । मध्यम कुपोषित ८३ जना बालबालिका अझै स्वास्थ्यकर्मीको सम्पर्कमा आएका छैनन ।
यसैगरि डुडुवा गाउँपालिकामा ८६ जना कडा किसिमको कुपोषित बालबालिका सबै स्वास्थ्य केन्द्रमा उपचार गराईरहेका छन भने ४०७ जना मध्यम खालका कुपोषित बालबालिकामध्ये ३६६ जना मात्र स्वास्थ्य केन्द्रमा उपचारका लागि सम्पर्क आएको डुडुवाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले बताउनुभयो ।
टोलीले नरैनापुर गाउँपालिका–२ स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको अवलोकन गरी स्वास्थ्य संस्था प्रमुख नवीन बुढा क्षेत्रीसँग पोषण सेवाको कार्यान्वयन तथा प्रगतिबारे छलफल गरेको थियो ।
अवलोकनका क्रममा कार्यक्रमका लागि उपलब्ध गराइएका उपकरणहरूको कार्यक्रम निर्देशिकाअनुसार प्रभावकारी रूपमा प्रयोग भइरहेको तथा रेकर्डिङ र रिपोर्टिङ व्यवस्थित रूपमा अद्यावधिक गरिएको पाइएको थियो ।
अनुगमन टोलीले समुदायस्तरमा प्रभावित बालबालिकाको घरमै पुगेर अनुगमन गरेको थियो । प्रभावित बालबालिकाको पोषण अवस्थामा उल्लेखनीय सुधार देखिएको पाइयो भने अभिभावकलाई बाल पोषण तथा उचित आहार सम्बन्धी परामर्श प्रदान गरिएको थियो । प्रभावित बालबालिकाको हकमा पनि अभिभावकलाई आवश्यक परामर्श प्रदान गरी बालबालिकालाई पुनः उपचार प्रक्रियामा समावेश गरिएको थियो ।
डुडुवा गाउँपालिका–४ र ५ मा रहेका कुपोषण प्रभावित बालबालिकाका परिवारहरूको घरदैलो अनुगमनका क्रममा बालबालिकाको पोषण अवस्थामा सकारात्मक सुधार देखिएको थियो । महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय परिचालन तथा नियमित फलोअपले कुपोषण व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अनुगमन टोलीले निष्कर्ष निकालेको छ ।
टोलीले डुडुवा गाउँपालिका–५ स्थित कम्दी स्वास्थ्य चौकीको समेत अवलोकन गरी स्वास्थ्य संस्था प्रमुख कमल प्रसाद उपाध्याय तथा स्वास्थ्यकर्मीहरूसँग सेवाको कार्यान्वयन, कुपोषणका बिरामीहरूको उपचारमा भर्ना तथा नियमित फलोअपको अवस्थाबारे राष्ट्रिय पोषण मापदण्डअनुसार छलफल गरेको थियो ।
स्वास्थ्य कार्यालय बाँकेको प्रमुखसुनिता पौडेलले पहिचान भएका सबै कुपोषित बालबालिकालाई समयमै उपचार प्रक्रियामा समावेश गर्नुपर्नेमा जोड दिँदै स्वास्थ्यकर्मीहरूले घरदैलो भ्रमणमार्फत अभिभावकलाई परामर्श प्रदान गरी उपचारमा भर्ना सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी, हेलेन केलर इन्टरनेशनल नेपालका प्रदेश व्यवस्थापक शशी देव शाहले स्वास्थ्यकर्मी तथा बाँके युनेस्को क्लबका पोषण सहजकर्ताहरूको संयुक्त घरदैलो अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकाको परिचालनलाई प्राथमिकता दिनुपर्ने तथा जटिल अवस्थाका बालबालिकाको नियमित निगरानी र समयमै उपचार सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
यस संयुक्त अनुगमन भ्रमणले सरकारी निकाय, विकास साझेदार संस्था तथा समुदायस्तरका सरोकारवालाहरूबीचको सशक्त सहकार्यलाई थप मजबुत बनाएको छ । बालबालिकाको पोषण अवस्थामा दिगो सुधार ल्याई स्वस्थ, सक्षम र कुपोषणमुक्त समाज निर्माण गर्ने साझा प्रतिबद्धतालाई यस कार्यक्रमले अझ सुदृढ बनाएको छ ।
उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय बाँेकेकी प्रमुखसुनिता पौडेल, पोषण फोकल व्यक्ति बसन्ती मल्ल, बाँके युनेस्को क्लबका सचिव फिरदौस जहाँ, कार्यकारी निर्देशक रवि कुमार तुलाधर तथा प्राविधिक सल्लाहकारसजिद अली सिद्दिकी, हेलेन केलर इन्टरनेशनल नेपालका प्रदेश व्यवस्थापक शशी देव शाह र फिल्ड अफिसर लीलबहादुर नेपाली, जीवनका लागि पोषण परियोजनाकी बाँके कार्यक्रम संयोजक दृष्टि शाह, अनुगमन तथा मुल्यांका अधिकृत अनु चौधरी तथा परियोजनाका पोषण सहजकर्ताहरूको सहभागिता रहेको थियो ।




बिहानीको तारा । २ श्रावण २०८३, शनिबार १४:१३