कास्की जिल्ला अदालतको आदेश: रवि लामिछाने विरुद्धको मुद्दा तत्काल फिर्ता नहुने

पोखरा । कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ। सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालयबाट मुद्दा संसोधन तथा फिर्ताका लागि पेस गरिएको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। अदालतले महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको अवस्थामा तत्काल मुद्दा फिर्ता गर्न नमिल्ने ठहर गरेको छ। इजलासले सर्वोच्च अदालतबाट हुने अन्तिम आदेश जिल्ला अदालतमा पेस भएपछि मात्रै आवश्यक निर्णय लिइने स्पष्ट पारेको छ।

यसअघि रूपन्देही जिल्ला अदालतले पनि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो। महान्यायाधिवक्ताको कार्यालयले गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीको निर्णय अनुसार लामिछानेसहितका प्रतिवादीविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दिएको थियो।

लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालत, कास्की जिल्ला अदालत, काठमाडौं जिल्ला अदालत तथा चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर भएका छन्।