
नेपालगञ्ज । नेपालगञ्जमा पत्रकारहरूलाई लक्षित गर्दै निःशुल्क आँखाजाँच कार्यक्रम सम्पन्न भएको छ। गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशन नेपालगञ्जको आयोजनामा र नेपाल पत्रकार महासंघ बाँकेको सहकार्यमा सञ्चालित कार्यक्रममा जिल्लाका १९४ जना पत्रकारहरूले सेवा लिएका छन्।
नेपालगञ्ज-४ स्थित फाउण्डेशनको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा ९१ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ भने आवश्यक औषधिहरू पनि निःशुल्क प्रदान गरिएको थियो।
कार्यक्रम चौथो गौरव स्मृति दिवसको अवसरमा आयोजना गरिएको हो।
उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष मधु शाहको अध्यक्षता र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
अध्यक्ष गिरीले पत्रकारहरू प्रायः कम्प्युटर, ल्यापटप तथा मोबाइलमा निरन्तर काम गर्नुपर्ने भएकाले आँखाको हेरचाह अनिवार्य रहेको बताए। उनले आँखालाई संवेदनशील अंग भन्दै बेलाबेलामा नियमित परीक्षण गर्नुपर्नेमा जोड दिए। साथै यस्तो परोपकारी कार्यक्रममार्फत पत्रकारहरूको स्वास्थ्यप्रति चासो देखाएकोमा संस्थालाई धन्यवाद दिए।
संस्थाका संरक्षक प्रदिप शाहले गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशन विगतदेखि नै सामाजिक सेवामा सक्रिय रहँदै आएको बताए। स्व. गौरव शाहको स्मृतिमा गरिएको यस कार्यक्रमले समाजप्रतिको उत्तरदायित्व दर्शाउने उल्लेख गर्दै उनले पत्रकारहरूको हितमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, समाजसेवी हरिष गुप्ता, शिवकुमार बर्मालगायत वक्ताहरूले स्व. गौरव शाहको योगदानको चर्चा गर्दै संस्थाले गरिरहेको सामाजिक कार्यको प्रशंसा गरे।
कार्यक्रमको सञ्चालन संस्थाका सल्लाहकार तथा पत्रकार मधु पौडेलले गर्नुभएको थियो।
दृष्टि परीक्षण दृष्टि विशेषज्ञ तिलक शाह र नवीन कनोजिया नेतृत्वको टोलीले गरेको थियो। कनोजियाका अनुसार धेरै पत्रकारमा दुरदृष्टि सम्बन्धी समस्या देखिएको थियो।
यसै अवसरमा, फाउण्डेशनले हालै फिलिपिन्सको मनिलामा सम्पन्न “लिटल एण्ड टिन ग्ल्याम पेजेन्ट इन्टरनेशनल २०२५” मा प्रथम स्थान हासिल गर्ने नेपालगञ्जकी मोनिका कठायतलाई विशेष सम्मान पनि गरेको छ।
सम्मान कार्यक्रम नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल प्रेस युनियनका उपाध्यक्ष प्रेम केसी, महासंघका पूर्व अध्यक्ष झलक गैरे तथा संस्थाका संरक्षक प्रदिप शाहले संयुक्त रूपमा सम्पन्न गरेका थिए।



तिलक बहादुर नेपाली । १ असार २०८२, आईतवार १९:३५