भ्रमपूर्ण समाचारप्रति पूर्वमन्त्री इश्तियाक राईको सचिवालयको गम्भीर आपत्ति

नेपालगंज। पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का महासचिव मोहम्मद इश्तियाक राईको सचिवालयले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ मा घटेको घटनालाई लिएर अनावश्यक रूपमा नाम जोड्दै भ्रमपूर्ण समाचारप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार रिपोर्टर्स क्लब काठमाडौँमा आयोजित पत्रकार सम्मेलन तथा विभिन्न सामाजिक सञ्जालमार्फत सम्प्रेषित विषयवस्तुसँग सम्बन्धित भई पीडित परिवारलाई मुद्दा दर्ता नगर्न दबाब दिएको भन्ने समाचारप्रति सचिवालयले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।

विज्ञप्तिमा अत्यन्त संवेदनशील तथा जघन्य अपराध बलात्कारजस्ता विषयमा अपराध गर्ने जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्छ भन्ने मान्यताप्रति आफ्नो स्पष्ट र दृढ अडान रहेको उल्लेख गरिएको छ। साथै, कानुनी राज्य र संविधानभन्दा माथि कोही पनि नहुने मान्यताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको सचिवालयले जनाएको छ।

डुडुवा–४ को घटनामात्र नभई पूर्वमन्त्री राईले कुनै पनि विवादित मुद्दामा दबाब दिने कार्य गर्ने कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै प्रहरीले कुनै पनि किसिमको हस्तक्षेप बिना स्वतन्त्र, निष्पक्ष र प्रभावकारी रूपमा अनुसन्धान गर्न पाउनुपर्ने स्पष्ट धारणा विज्ञप्तिमा व्यक्त गरिएको छ।

समग्र समाजको भलाइ, सुरक्षा तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि भ्रमपूर्ण, अपुष्ट र तथ्यहीन समाचार प्रकाशन तथा प्रशारण नगर्न आग्रह गर्दै मिडिया मात्र नभई प्रत्येक नागरिकले सूचना सार्वजनिक गर्दा सत्यताको सुनिश्चितता गर्न आवश्यक रहेको सचिवालयले जनाएको छ।

झूटा तथा भ्रमपूर्ण समाचारहरूले सार्वजनिक जीवनमा शान्ति–सुरक्षामा खलल पुर्‍याउनुका साथै लोकतान्त्रिक समाजमा जनताको सही निर्णय क्षमतालाई कमजोर बनाउने, सरकार, मिडिया तथा संस्थाप्रतिको विश्वास घटाउने र सामाजिक अशान्ति निम्त्याउने जोखिम रहने भन्दै यस्ता निराधार आरोपहरूको कडा शब्दमा खण्डन गरिएको छ।

सचिवालय संयोजक राजेन्द्र विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत यस्ता गलत र भ्रामक प्रचारको पछि नलाग्न सबै सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा नागरिकहरूलाई आग्रह गरिएको छ।

बिज्ञप्ति सहित