
काठमाडौँ । नेपालमा पहिलो पटक अत्याधुनिक फिल्म सुटिङ स्टुडियो निर्माणको थालनी भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममा बनेपामा बन्ने ‘सिनेपाः’ फिल्म स्टुडियोको निर्माण कार्यको औपचारिक शिलान्यास गरेका छन्।
प्रधानमन्त्री ओलीले स्टुडियोले नेपाली फिल्म उद्योगमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनले विगतमा आफ्नै सरकार हुँदा पनि यस्तो परियोजना अघि नबढेकोप्रति आत्मस्वीकृति जनाउँदै भने, “फिल्म सुटिङका लागि आफ्नै इन्डोर स्टुडियो बनाउन हामीले ६० वर्ष पर्खनुपर्यो, यो मेरो पनि कमजोरी हो।”
उनले नेपालमा विकासका प्रयत्नहरू बारम्बार मुद्दामा अल्झिने प्रचलनप्रति चिन्ता व्यक्त गर्दै सिनेजगतले दोलखा र पालुङटारमा पनि सम्भावित फिल्म सिटीको सम्भावना खोजिरहेको उल्लेख गरे। पालुङटार क्षेत्र हिमाल देखिने मनोरम स्थल भएकाले फिल्म सिटी निर्माणका लागि उपयुक्त स्थान भएको उनले बताए।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसहित विभिन्न चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो। अध्यक्ष डीसीका अनुसार बनेपा नगरपालिकाको वडा नं. १० र ११ मा निर्माण हुने स्टुडियो सन् २०२६ भित्र सम्पन्न हुने लक्ष्य लिइएको छ। यस वर्षको दसैँपछि निर्माता तथा निर्देशकहरूले फिल्म सुटिङ गर्न पाउने पनि उनले जानकारी दिए।
२०८१ साल असार २८ गतेको मन्त्रिपरिषद् बैठकले बाहुनडाँडा सामुदायिक वन क्षेत्रभित्र पर्ने दुई हेक्टर जमिन फिल्म स्टुडियो निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिएको थियो। ‘सिनेपाः’ स्टुडियो निर्माणको कुल लागत ३९ करोड रुपैयाँ रहनेछ भने प्रारम्भिक चरणमा १० करोड रुपैयाँको बजेटमा काम सुरु गरिएको छ।
‘सिनेपाः’ नाम ‘सिनेमा’ र नेवार समुदायले नेपाललाई सम्बोधन गर्ने शब्द ‘नेपाः’ मिलाएर राखिएको हो, जसले नेपाली संस्कृति र आधुनिक प्रविधिको संयोजनलाई प्रतिनिधित्व गर्नेछ।



बिहानीको तारा । ३० बैशाख २०८२, मंगलवार १७:२२