नेपालगन्ज उप-महानगरपालिकाले ४ दिन विद्यालय बिदा


नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरूमा ४ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

उप–महानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाद्वारा जारी सूचनाअनुसार मिति २०८२ पुस ११ गते देखि पुस १४ गतेसम्म विद्यालयहरूमा बिदा दिइएको हो। उप-महानगरपालिकाको आयोजनामा तथा व्यवस्थापनमा सो अवधिमा अन्तरविद्यालयस्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएकाले बिदा दिइएको जनाइएको छ।

साथै, हाल अत्यधिक चिसो मौसमका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई समेत मध्यनजर गर्दै सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको शिक्षा शाखाले जनाएको छ।

उप-महानगरपालिकाले जारी गरेको व्यहोरा आदेशअनुसार तोकिएको अवधिमा नियमित पठनपाठन बन्द रहनेछ भने प्रतियोगिता सम्पन्न भएपछि विद्यालयहरू पुनः नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।