राष्ट्रपति पौडेलद्वारा विघटित संसदका शीर्ष नेतासँग छलफल गर्दै


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित संसदका ठूला दलका शीर्ष नेताहरूसँग आज छलफल गर्ने भएका छन् । राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शीतल निवास बोलाएका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार आज दिउँसो ३ बजे शीतल निवासमा छलफल हुने तय भएको छ । छलफलमा आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा कुराकानी हुने बताइएको छ ।
तर राष्ट्रपति कार्यालयले छलफलको औपचारिक एजेन्डाबारे भने केही खुलाएको छैन ।

पछिल्लो राजनीतिक परिस्थितिका सन्दर्भमा राष्ट्रपतिले प्रमुख दलका शीर्ष नेतासँग परामर्श गर्न लागेको बुझिएको छ ।