सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा दशैंले प्रेरणा दिने विश्वास : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिजया दशमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

प्रचण्डले दशैंलाई सामाजिक एकता, सांस्कृतिक अन्तर्घुलन र अग्रगमनको पर्वका रूपमा मनाउन आह्वान गरेका छन्।

नेपाली जनताले महान् संघर्ष र आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दा सम्बोधन गर्नुपर्ने जटिल राजनीतिक परिस्थिति विद्यमान रहेको उल्लेख गरेका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारीसहित संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका विषयहरू अहिले फेरि मुखरित भएको बताउँदै उनले वर्तमान परिस्थितिलाई अगाडि बढाउन माओवादी केन्द्र प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकमार्फत संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ। उनले आगामी मंसिरमा हुने विशेष महाधिवेशनमार्फत जेन-जीसहित युवाको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने तयारी भइरहेको जानकारी पनि दिएका छन्।

“सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्न दशैंजस्ता सांस्कृतिक पर्वहरूले सबैलाई प्रेरणा दिनेछन्,” प्रचण्डले भनेका छन्।