नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा शुभकामना आदानप्रदान तथा वेबसाइट उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले दशैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसहित शाखाको आधिकारिक वेबसाइट उद्घाटन गरेको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले सञ्चार माध्यमको समयसापेक्ष उपयोग आवश्यक भएको भन्दै महासंघले आफ्ना गतिविधि वेबसाइटमार्फत सार्वजनिक गर्नु गतिशील र प्रभावकारी हुने बताउनुभयो । उहाँले पत्रकारहरुलाई आचारसंहितामा रहि सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न आग्रह गर्दै आधिकारिक स्रोत पहिचान गरी मात्र समाचार तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

शाखा अध्यक्ष नवीन गिरिले महासंघ आस्थावान संगठन भएकाले २४३ जना सदस्यको सक्रिय सहयोग अपरिहार्य हुने उल्लेख गर्नुभयो। उहाँले पत्रकारितालाई मर्यादित र उत्तरदायी बनाउन सबै सदस्यलाई सत्य र तथ्यपरक समाचार सम्प्रेषण गर्न अनुरोध गर्नुभयो। साथै शाखाले वेबसाइटमार्फत सबै सदस्यको विवरण, नयाँ सदस्यता फारम लगायतका कामकाज प्रविधिमैत्री बनाउन लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रेस युनियनका जिल्ला अध्यक्ष प्रीयास्मृति ढकाल, प्रेस चौतारी अध्यक्ष कमल डाँगी, प्रेस सेन्टर नेपाल जिल्ला सह-सचिव सन्तोष कुमार बिष्ट तथा शाखाका पूर्वअध्यक्षलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।