
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपन्देहीमा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने घोषणा गरेका छन् ।
आइतबार बुटवलको वेलबासमा सम्पन्न पार्टीको लुम्बिनी प्रदेशको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले रुपन्देहीमा अघिल्ला निर्वाचनभन्दा अझ राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्दै नेताकार्यकर्तालाई त्यसका लागि तयारी थाल्न निर्देशन दिए ।
उनले भने, “यो परिवर्तन माओवादीले ल्याएको हो, यसको रक्षा पनि माओवादीकै जिम्मेवारी हो । जनयुद्धदेखि गणतन्त्र स्थापना सम्म माओवादीको योगदान ऐतिहासिक छ । रुपन्देहीमा हामीले अझ राम्रो परिणाम ल्याउँछौँ, एक्लै लड्ने हो, त्यसको तयारी गर्नुपर्छ ।”
बैठकमा सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्र देखिएको असन्तुष्टि र बहसलाई वर्गसंर्घषको स्वाभाविक स्वरूप भएको टिप्पणी गरे । उनले माओत्से तुङ, ल्यू साओची र लिनप्याओबीचको ऐतिहासिक सम्बन्धको दृष्टान्त दिँदै नेतृत्वप्रतिको आस्था परीक्षण हरेक आन्दोलनमा हुने बताए ।
उनले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा माओवादीको नेतृत्वलाई इतिहासले प्रमाणित गरिसकेको भन्दै अब जनयुद्ध र परिवर्तनका आन्दोलनका अभिलेख व्यवस्थित गर्न पार्टीले अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रचण्डले देशभरका वडाबाट सहिद, घाइते, युद्धमा सहभागी तथा जेलनेल भोगेका नागरिकहरूको तथ्याङ्क संकलन गरी केन्द्रमा पठाउन निर्देशन दिए । साथै, गणतन्त्रमा योगदान गर्ने जुनसुकै पार्टीका व्यक्तिलाई सम्मान गर्ने व्यवस्था बनाउनुपर्नेमा जोड दिए ।
उनले पार्टीप्रति जनताको भरोसा बढ्दो क्रममा रहेको उल्लेख गर्दै “प्रतिक्रियावादी र बिचौलिया” समूह माओवादीको उन्नत आन्दोलनबाट डराइरहेको टिप्पणी गरे ।
बैठकमा प्रचण्डले पार्टी आन्दोलनबारे समीक्षा, सङ्गठन पुनर्गठन, नेतृत्व हस्तान्तरणको तयारी, जनताको भरोसाप्रति जिम्मेवारी र पार्टीको भविष्यका योजना प्रस्तुत गरेका थिए । साथै, समसामयिक राजनीति र आगामी रणनीतिबारे समेत धारणा राखेका थिए ।



बिहानीको तारा । १५ भाद्र २०८२, आईतवार १९:५१