
काठमाडौ । अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा ११ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।
अनेरास्ववियु (क्रान्तिकारी) ले लाखौँ विद्यार्थीहरूको भविष्य बर्बाद हुने खालका गतिविधिहरू सीटीईभीटीले गरिरहेको भन्दै सोमबार भक्तपुर सानो ठिमीस्थित सीटीईभीटीको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।
संगठनका महासचिव रोशन थापामगरले सीटीईभीटीले प्राविधिक शिक्षालाई श्रमिक, किसान र गरिब जनताका छोराछोरीसम्म सहज रुपमा पुर्याउनुपर्ने दायित्व पुरा नगरेर उल्टै व्यापारीकरण र मुनाफाखोरीको दलदलमा फसिरहेको आरोप लगाए ।
ज्ञापनपत्रमा भनिएको छ, “लाखौँ विद्यार्थीहरूको भविष्य बर्बाद हुने खालका गतिविधिहरू दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । भविष्यका कर्णधारहरूलाई दमन र शोषणको नाङ्गो जालोमा बाँध्ने कार्यप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।”
क्रान्तिकारीले सीटीईभीटी मातहतका सम्पूर्ण शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीको भविष्य सुरक्षित गर्न मागसमेत गरेको छ । ज्ञापनपत्रमा राखिएका मागहरू एक साताभित्र पूरा नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ ।
संगठनले आन्दोलनबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी परिषद्ले लिनुपर्ने स्पष्ट पारेको छ ।






बिहानीको तारा । ९ भाद्र २०८२, सोमबार १९:२५