नेपालगञ्जमा जथाभावी फोहोर फाल्नेहरूमाथि कारबाही, एकजनालाई ५ हजार जरिवाना

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्नेहरूमाथि निगरानी तथा जरिवाना अभियानलाई तीव्र पारेको छ।

उपमहानगरपालिका वडा नम्बर–९ स्थित भूमिसुधार तथा मालपोत कार्यालय पछाडि रहेको भु-सेवा केन्द्र जाने सार्वजनिक बाटोमा फोहोर फाल्ने हरिदेवबक्स कुर्मीलाई ‘नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५’ अनुसार पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।

नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीका अनुसार, पटक–पटक चेतावनी दिँदा समेत कुर्मीले अटेरी गरेकाले जरिवाना गर्नु परेको हो। “नगरलाई सफा राख्न हामीले जनचेतनामात्र नभई कारबाहीको नीति पनि अगाडि बढाएका छौं,” बोगटीले जानकारी दिए।

उपमहानगर प्रमुख प्रशान्त विष्टले फोहोर व्यवस्थापनमा सबै नगरवासीको सहकार्य आवश्यक रहेको बताउँदै, “हामी नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने अभियानमा छौं, जथाभावी फोहोर फाल्नेहरूमाथि निगरानी बढाएका छौं,” भने।

नगरपालिकाले आगामी दिनमा फोहोर व्यवस्थापन अभियानलाई अझ प्रभावकारी बनाउँदै सचेतनामूलक कार्यक्रमसँगै निगरानी र कारबाही पनि निरन्तर गरिने जनाएको छ।