नरैनापुरमा दादुरा फैलियो

०४ माघ २०७९ बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–२ मा १२ जना भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिनुएको छ ।

दादुरा रोग न्यूनीकरण गर्न बुधबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह लगायत सरोकारवालाको बिच भएको छलफलपछि सङ्क्रमित क्षेत्रमा दादुराविरुद्ध खोप लगाउने निर्णय गरेको छ ।

“गाउँपालिकामा महामारीका रुपमा दादुरा फैलिन सक्ने भएकोले दादुरालाई नियन्त्रण गर्न खोप अभियान सुरु गरिने छ”, गाउँपालिकाका अध्यक्ष शाहले भन्नुभयो, “यसलाई न्यूनीकरण गर्न विशेषज्ञ सहितको टोली संग भएको छलफलबाट दादुराविरुद्धको खोप लगाउने निर्णय गरेको हो ।”

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार रोग नियन्त्रण तथा रोकथामका लागी भोलि बिहीबारबाट गाउँपालिकाको ६ वटै वडामा बालबालिकालाई खोप लगाइने भएको छ ।

आज नरैनापुरमा भएको कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, प्रदेश स्वास्थ्य मन्त्रालय , प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, स्वास्थ्य कार्यालयका प्रमुख, नरेश श्रेष्ठ, WHO, Unicef र नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लगायतले “दादुरा रोग नियन्त्रण र खोप अभियान संचालन अभिमुखिकरण र योजना तर्जुमा” कार्यक्रममा बोल्नु भएको थियो ।