काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारप्रति दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । उपेन्द्र यादवको नेतृत्वमा रहेको पार्टीको असार ७ र ८ गते सम्पन्न कार्यकारिणी समितिको बैठकले सरकारको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि जनाउँदै संसदीय दललाई समर्थनबारे पुनः विचार गर्न निर्देशन दिएको हो।
बैठकपछि पार्टी प्रवक्ता मनिष सुमनले जानकारी गराउँदै भने, “केपी ओली नेतृत्वमा रहेको सरकार भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन तथा आर्थिक अवस्था सुधार जस्ता प्रमुख मुद्दामा पूर्णरूपमा असफल भएको ठहर जसपाले गरेको छ।”
जसपाले जारी गरेको निर्णयपत्रमा भनिएको छ, “पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरी आवश्यक निर्णय लिन संघीय संसदीय दललाई निर्देश गरिएको छ।”
त्यसैगरी, बैठकले विभिन्न राजनीतिक दलहरू परित्याग गरी जसपामा प्रवेश गरेका पाँच नेतालाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय समेत गरेको छ। मनोनीत हुनेमा पर्साबाट शशिकपुर मियाँ, करिमा बेगम र सुधीर नाथ पाण्डे, रूपन्देहीबाट कैलास गुरुङ र निलम यादव छन्।
पार्टी भित्रको गतिविधि र सरकारप्रति बढ्दो असन्तुष्टिले जसपा अब सत्ता समीकरणमा निर्णायक भूमिका खेल्न सक्ने संकेत देखिएको छ।
बिहानीको तारा । ९ असार २०८२, सोमबार १५:०९