
काठमाडौं । प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप भएको भन्दै प्रेस सेन्टर नेपालले सरकार र न्यायालयको चर्को आलोचना गरेको छ। नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन जिल्ला अदालत काठमाडौंले दिएको आदेश र वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न जारी गरिएको पुर्जीप्रति प्रेस सेन्टरले गम्भीर ध्यानाकर्षण जनाएको हो।
प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा अदालतको आदेशले संविधान प्रदत्त प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चोट पुर्याएको उल्लेख गरिएको छ। प्रेस काउन्सिलजस्तो नियामक निकायको अस्तित्व हुँदाहुँदै अदालतबाट समाचार हटाउने र पत्रकार पक्राउ गर्ने आदेश आउनु अस्वाभाविक रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “न्यायालयले पटक–पटक प्रेस स्वतन्त्रता प्रतिकूल आदेश जारी गर्नु संयोग मात्र नभई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी प्रणालीमाथि गम्भीर षड्यन्त्र हुन सक्ने आशंका गरिएको छ।” प्रेस सेन्टरले यस घटनाको जिम्मेवारी सरकार, गृहमन्त्री र गृह प्रशासनले लिनुपर्ने स्पष्ट पारेको छ।
प्रेस सेन्टरले वरिष्ठ पत्रकार दिलभूषण पाठकको गिरफ्तारी तयारी तत्काल रोक्न माग गर्दै, संविधान र प्रेस स्वतन्त्रताको संरक्षणमा सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ। साथै, यस्ता प्रेस स्वतन्त्रता विरोधी कदमविरुद्ध सामूहिक प्रतिवाद र संघर्ष गर्न पनि आफू सधैं तयार रहेको चेतावनी दिएको छ।



बिहानीको तारा । २८ जेष्ठ २०८२, बुधबार १९:४८