
नेपालगन्ज । नेपाल–भारत सीमावर्ती क्षेत्र जयसपुर नाकाबाट पाँच लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतको उत्तर प्रदेश, लखनऊका ४० वर्षीय निरज चौरासियाले चलाएको UP 32 LB 6389 नम्बरको सुजुकी गाडीलाई शंका लागेर जाँच गर्दा उक्त रकम फेला परेको हो।
गाडीको चेकजाँच गर्दा भारतीय पाँच सय दरका ६०० थान र दुई सय दरका १,००० थान नोट गरी कुल पाँच लाख भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। गाडीमा सवार दाङ, पूर्व पुरन्धारा गाविस–१ की २६ वर्षीया साईना नेपाली समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद गरिएको नगद र गाडीसहित दुवै जनालाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिए।



बिहानीको तारा । १६ जेष्ठ २०८२, शुक्रबार १२:१०