खजुरा–जानकी अन्तरपालिका बैठक सम्पन्न

बाँके । बाँकेको खजुरा गाउँपालिका र जानकी गाउँपालिकाबीच सम्पन्न अन्तरपालिका संयुक्त बैठकले दुबै पालिकाको साझा हित र विकासका लागि १० महत्वपूर्ण निर्णय सर्वसम्मतिले पारित गरेको छ।

जानकी गाउँपालिकामा सम्पन्न बैठकले दुवै पालिकाको सिमाना जोड्ने पूर्वाधार निर्माण, संयुक्त प्रवेशद्वार (गेट) निर्माण, तथा किरण खोलामा तटबन्ध निर्माणका विषयमा सहमति जुटाएको हो। साथै, उच्च भोल्टेज (हाइटेन्सन) लाइनको सहज व्यवस्थापन, सडक किनारामा वृक्षारोपणमार्फत वातावरणीय सन्तुलन कायम गर्ने र फोहरमैला व्यवस्थापनका लागि संयुक्तरुपमा दमकल खरिद गर्ने विषयमा पनि निर्णय गरिएको छ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकका अनुसार बैठकले छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन, कृषि अनुसन्धान केन्द्रको सुधार र सञ्चालन, साथै उद्योग–कलकारखानाबाट हुने प्रदूषण न्यूनीकरण सम्बन्धमा पनि ठोस निर्णयहरू गरेको छ।

जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले दुवै पालिकाबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले आर्थिक वर्ष २०८२/८३ का वार्षिक कार्यक्रमहरू संयुक्तरूपमा अघि बढाइने र ठूला योजनाहरू प्रदेश तथा संघ सरकार समक्ष सिफारिश गरिने जानकारी दिनुभयो।

उक्त बैठकलाई दुबै पालिकाबीचको समन्वयात्मक विकासको नयाँ अभ्यासका रूपमा हेरिएको छ।