थारु–मधेसी एकता रोक्न रेशम चौधरी पक्राउ गरिएको जनमतको आरोप

काठमाडौँ । जनमत पार्टीका प्रवक्ता शरद यादवले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउलाई राजनीतिक षड्यन्त्रको रूपमा आरोप लगाएका छन्। उनका अनुसार थारु र मधेसी पहिचानवादी शक्तिहरूबीचको सम्भावित एकता रोक्न नियोजित रूपमा चौधरीलाई पक्राउ गरिएको हो।

चौधरी बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रममा सहभागी हुन काठमाडौंको प्रज्ञा भवन पुगेका थिए। कार्यक्रममा सहभागी हुनै लाग्दा उनलाई सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरी डिल्लीबजार कारागार लगिएको छ।

प्रवक्ता यादवले भने, “संरक्षकज्यूलाई कुनै जानकारी नदिई गिरफ्तार गरेर पार्टी एकता प्रक्रिया अवरुद्ध गरियो। थारु र मधेसी एक ठाउँमा आउन नदिन यो कदम चालिएको हो।”

जनमत र नागरिक उन्मुक्तिबीचको पार्टी एकता औपचारिक घोषणाअघि गरिएको गिरफ्तारीप्रति आपत्ति जनाउँदै यादवले उक्त एकता प्रक्रिया तत्कालका लागि स्थगित गरिएको जानकारी दिए। अब दुबै पार्टीका नेताहरू बसेर आगामी रणनीतिबारे छलफल गरिने उनले बताए।

यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले भने चौधरीलाई सर्वोच्च अदालतको आदेशअनुसार बाँकी कैद सजाय कार्यान्वयनका लागि पक्राउ गरिएको स्पष्ट पारेका छन्। “पूर्वको मुद्दामा कैद बाँकी भएकाले उनलाई पक्राउ गरिएको हो,” उनले भने।