कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायी व्यवस्था भएको दोहोर्याउँदै पुरानो व्यवस्थामा फर्कन नहुने चेतावनी दिएका छन्।
मंगलबार कैलालीको टीकापुर नगरपालिका–९, झुँगामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त वर्तमान संविधान र व्यवस्था कुनै हालतमा खारेज हुन नसक्ने स्पष्ट पारे।
तराई–मधेस जागरण हुलाकी मार्ग अभियान अन्तर्गत आयोजित कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच आउने कुनै पनि गतिविधि अस्वीकार्य भएको बताए। त्यसका विरुद्ध सबै राजनीतिक दलहरू र नेपाली जनतालाई एकताबद्ध हुन आग्रह गरे।
संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यक परेमा जनभावनाअनुसार संशोधन गर्न सकिने उल्लेख गर्दै उनले सरकारलाई जनचाहनाअनुसार इमानदारीपूर्वक काम गर्न सुझाव दिए। साथै, आन्दोलनरत पक्षका जायज मागहरू सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरे।
बिहानीको तारा । १६ बैशाख २०८२, मंगलवार १६:१२