जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतले पत्रकार भेटघाटमार्फत नेपाल पत्रकार महासंघ शाखा जुम्लाका तत्कालीन अध्यक्ष नेत्रबहादुर शाहीमाथि पाँच लाख रुपैयाँ मागेको आरोप लगाएको घटनाप्रति शाहीले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
शाहीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा आफूले कुनै पनि रकम नमागेको प्रष्ट पार्दै महतको अभिव्यक्तिलाई कपोलकल्पित, निराधार र पत्रकारितामाथिकै हमला भएको बताएका छन्। उनले भनेका छन्, “कुनै समाचारप्रति चित्त नबुझे प्रेस काउन्सिल वा सम्बन्धित निकायमा जाने वैधानिक बाटो खुला छ, तर भेटघाटमार्फत पत्रकारितालाई निरुत्साहित गर्ने ढंगले झुटा आरोप लगाउनु निन्दनीय छ।”
शाहीले आफ्नो कार्यकालमा महासंघको तेस्रो तलाको भवन निर्माण, पाँच लाखको लेखनवृत्ति कोष स्थापना, कार्यालय सामग्री खरिद र पुस्तकालय स्थापना जस्ता ऐतिहासिक कामहरु सम्पन्न भएको जानकारी समेत दिएका छन्। उनले महासंघको कोसेली पत्रिका २०७९ विशेषांकमा प्रतिष्ठानसहित जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका सन्देशमूलक सूचना प्रकाशित गरिएको स्पष्ट पारेका छन्।
“महासंघको आर्थिक कारोबार अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट मात्र सञ्चालन हुने भएकाले व्यक्तिगत रूपमा कसैले रकम मागेको भन्ने आरोप सरासर झुटो हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
शाहीले महतले आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्दै अन्यथा कानुनी उपचारका लागि न्यायिक निकायमा जाने चेतावनी पनि दिएका छन्।
बिहानीको तारा । १५ बैशाख २०८२, सोमबार २२:१५