नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालगन्ज उप-महानगरपालिका समितिले २२ जना सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ ।
सहिद सप्ताहको आज अन्तिम दिन नेकपा माओवादी केन्द्र)को नेपालगन्ज पार्टी कार्यालयमा सम्मान कार्यक्रम गरिएको थियो ।
पार्टीले जनयुद्ध र नेपालको क्रान्तिकारी आन्दोलनमा विशिष्ट योगदान पुर्याएको भन्दै सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरिएको हो ।
फागुन १४ गते देखि फागुन २१ गते सम्म सहिद सप्ताह माओवाद पार्टीले विभिन्न कार्यक्रम गरि देशभर मनाइ रहेको छ ।
सहिद तथा वेपत्ता परिवारलाई दाेसल्ला र भित्ते घडी दिएर सम्मान गरिएको नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उप-महानगरपालिका समिति अध्यक्ष प्रेम शाहले जानकारी दिनुभयो ।
सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्ण कुमारी सुवेदीले सहिद तथा वेपत्ता परिवारको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने र सहिद र वेपत्ताको त्यागकै कारण गणतन्त्र आउन सम्भव भएको हो, जनयुद्धका सहिद र वेपत्ता भएका योद्धालाई प्रचण्डकाे सरकार हुँदा सहिद घोषणा गरिएकाे बताउनुभयो ।
यस्तै नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सह-सचिब अकलबहादुर बमले सहिद तथा वेपत्ता परिवारलाई आइपर्ने कुनैपनि समस्यामा पार्टी साथमा रहने उल्लेख गर्दै पार्टी राजनीतिमा समेत सहिद तथा वेपत्ता परिवारलाई उच्च महत्वका उचित स्थानमा जिम्मेवारी दिनुपर्ने बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र तानाशाही राजतन्त्रात्मक व्यवस्थाको विरुद्ध लड्दै गर्दा आफ्नो जीवन उत्सर्ग गर्ने वीरसहिदहरुप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदी, नेकपा (माओवादी केन्द्र) प्रदेश समिति सह-सचिब अकल बहादुर बम, जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्स, सचीव डिल्ली बराल अमिर लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
सन्तोष कुमार बिष्ट । २१ फाल्गुन २०८१, बुधबार २२:५७