रोल्पा । रोल्पामा झोलुङ्गे पुल निर्माणका क्रममा दुर्घटना हुँदा पाँच कामदारको मृत्यु भएको छ ।
गाउँपालिका अध्यक्ष धनबहादुर पुन कीर्तिमानका अनुसार मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको क्रममा पर्खाल भत्किदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
ज्यान गुमाउनेहरुमा ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियार रहेका छन् ।
एलवि एण्ड पल्लवी निर्माण कम्पनीले एक महिनाअघि मात्र झोलुङ्गे पुल निर्माण शुरु गरेको थियो । पुललाई दुवैपट्टी अड्याउन केही दिनयता पर्खाल बनाउने काम भइरहेको छ । सोहीक्रममा आज अचानक पर्खाल लगाइहेको ठाउँमा माटोको ढिस्को खसेपछि पाँच जना पुरिएको अध्यक्ष कीर्तिमानले जानकारी दिए । उनका अनुसार दुई जना मजदुर भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।
निधन भएकाहरुको परिवारलाई राहतको लागि गाउँपालिकाले तत्काल २५ हजार उपलब्ध गराउने उनले जानकारी दिए । उता निर्माण कम्पनीले पनि मृतकहरूकाे बीमाअनुसार आर्थिक सहायता उपलब्ध गराउने बताएको छ ।
बिहानीको तारा । १६ मंसिर २०८१, आईतवार १५:२०