नेपालगन्ज । नेपालगन्ज उप-महानगरपालिका भित्र रहेका निजि स्वास्थ्य संस्था अस्पतालहरुलाई गरिब, विपन्न, असहाय, अपांग, सिमान्तकृत लगाएतका सेवाग्राहीहरुलाई १० प्रतिशत अनिवार्य नि:शुल्क उपचार सेवा गर्न नेपालगन्ज उप-महानगरपालिकाले निर्देशन दिएको छ ।
नगर प्रमुख प्रशान्त बिष्टले एक सूचना जारी गर्दै नगर भित्रका सबै निजि स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई नि:शुल्क उपचारको ब्यवस्था गर्न निर्देशन गर्नुभएको हो ।
सूचनामा नेपालको संविधान २०७२ को धारा ३५ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने संवैधानिक व्यवस्था अनुसार तथा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य सेवा ऐन, २०७९ को परिच्छेद ७ को दफा २३ को उपदफा १ बमोजिम १० प्रतिशत अनिवार्य निःशुल्क सेवा प्रदान गर्न निर्देशन गरिएको छ ।
विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुको नेपालगन्ज उप-महानगरपालिकाले समय समयमा अवलोकन, निरिक्षण तथा कारबाही समेत गर्दै आएको छ ।
नेपालगन्ज “मेडिकल हव”को रुपमा बिकास भैरहेको छ । यति बेला नेपालगन्जमा स्वास्थ्य संस्था तथा सामुदायिक अस्पतालहरु खोल्ने क्रम जारी रहेको छ ।
सन्तोष कुमार बिष्ट । ७ मंसिर २०८१, शुक्रबार १४:५१